२००७
सालदेखि लोकतन्त्रको अभ्यास गरेको हाम्रो देश नेपालमा नेतृत्व दिने नेता र शासन
गरिने जनता अझैसम्म पनि लोकतन्त्रको आधारभूत मुद्दाहरूमा अल्मलिइरहेका छन्।
विचार
मिल्ने नेता, कार्यकर्ता
र जनता विभिन्न वादहरूमा गोलबद्ध भए तर ती सबै मूल्य र मान्यताविहीन अस्पष्ट
वादहरूमा परिणत भए र स्वार्थवाद संस्थागत भयो। पूँजीवादी र साम्यवादीहरू एउटै
कित्तामा उभिए। चुनावमा एकअर्कालाई भोट हालेर जिताए।
राजावादी र
गणतन्त्रवादीसँगै उठबस गर्न थाले। अपराधी र भ्रष्टाचारीहरू राज्यबाटै संरक्षित भए।
समाजले तिनीहरूलाई सम्मान गर्न र चुनावमा भोट हालेर जिताउन थाले। राजनीतिक लगानी
उठाउन म्यादी मन्त्रीहरू नियुक्ति हुन थाले।
फलस्वरूप
चप्पल लगाउने र झोला बोक्ने सर्वहारा नेताहरू सुकिलामुकिला भए। आफू र आफ्ना परिवार, नातागोतालाई सात पुस्ताका लागि आधारभूत
र विलासी आवश्यकताहरू सुरक्षित गराए। अन्ततः देशलाई निचोरिएको कागतीको खोस्टा
जस्तै बनाउँदै देशकै अस्तित्व संकटमा पारे।
यसको लागि
नेता, कार्यकर्ता
र आम नागरिक सबै जिम्मेवार छन्। पार्टीमा माथिल्लो तहका नेताहरू विशेषगरी पार्टी
सभापतिहरू स्वार्थको आफ्नो वर्चस्व कायम गर्न माथिदेखि तलसम्म साम, दाम, दण्ड र भेद प्रयोग गरिरहेका छन्।
कुसंस्कारको
राजनीति गर्दै, नीतिगत
भ्रष्टाचार गर्दै दलालहरूमार्फत कालोधनको व्यापक दुरुपयोग गर्दा पार्टीभित्र
चुइँक्क नबोल्ने नेता, कार्यकर्ताहरू
जिम्मेवार छन्। तिनै भ्रष्टहरूलाई बारम्बार चुनावमा मत हाली जिताउने जनता पनि
जिम्मेवार छन्।
अब यो
विकृतिको प्रत्यक्ष, अप्रत्यक्ष
भागिदार पार्टीका असल नेता, कार्यकर्ता
र आम जनता गम्भीरतापूर्वक आफ्नो जिम्मेवारी बहन गर्दै आ-आफ्ना ठाउँबाट राजनैतिक
सफाइ अभियानमा लाग्न आवश्यक छ। कुहिएको, सडेगलेको आलुहरू छानेर व्यवस्थापन गर्न
अब ढिलाइ गर्नुहुन्न। आगामी आम निर्वाचनमा उम्मेदवार चयन गर्दा पार्टी सभापतिको
खल्तीबाट नभई पार्टी कार्यकर्ता र पार्टी सदस्यको प्रत्यक्ष संलग्नतामा पारदर्शी र
लोकतान्त्रिक विधिबाट गर्नुपर्छ।
त्यो भनेको
पार्टीभित्र उम्मेदवार चयनको लोकतान्त्रिक विधि प्राथमिक (प्राइमरी) निर्वाचन हो
जसमा पार्टीका सक्षम र क्षमतावान जोसुकैले पनि आफ्नो क्षमता प्रदर्शन गरेर
प्राइमरीमार्फत पार्टीको टिकट पाउन सक्छ र सीमित खर्चमा चुनाव जित्न सक्छ। यो
विधिमार्फत उम्मेदवार र मतदाता बीच प्रत्यक्ष अन्तरक्रिया हुने भएकोले यो
प्रक्रिया आफैंमा चुनावी अभियान हो। जसमार्फत मतदातालाई उम्मेदवार चिन्न, बुझ्न र भोट हाल्न सजिलो हुन्छ।
हालैको
स्थानीय निर्वाचनमा जनताले पार्टी र नेताप्रति आफ्नो निराशा पोख्दै स्वतन्त्रलाई
जिताएको छ भने अर्कातिर पार्टीका इमानदार र क्षमतावान युवा नेताहरू पार्टीमा विधि
स्थापना गर्न उम्मेदवार छनोट प्रक्रियालाई लोकतान्त्रिक र पारदर्शी बनाउन प्राथमिक
निर्वाचन प्रणाली (प्राइमरी) को अभ्यास गर्नुपर्नेमा जोड दिन थालेका छन्। यसै
सन्दर्भमा संसारका विभिन्न देशमा प्राइमरीको अभ्यास कसरी हुने गरेको छ र नेपालमा
यसको सान्दर्भिकता र चुनौतीको बारेमा यो लेख तयार गरिएको छ।
प्राथमिक
निर्वाचन (प्राइमरी) मार्फत उम्मेदवार छनोट हुनु वास्तवमा लोकतान्त्रिक अभ्यासको
सुन्दर पक्ष हो। यो प्रक्रियामा मतदाताहरूले आफ्नो पार्टीको उम्मेदवार कसलाई
बनाउने र जिताउने भन्ने मत प्राइमरीमार्फत दिएर संघीय, प्रदेश र स्थानीय निर्वाचनको लागि
पार्टीभित्र उम्मेदवार छनोट गर्छन्। उम्मेदवार छनोटको यो प्रक्रियामा सम्बन्धित
निर्वाचन क्षेत्रका मतदाता वा पार्टी सदस्यहरूको प्रत्यक्ष संलग्नता हुने भएकोले
यहाँ पार्टीको ह्वीप या पार्टीका माथिल्लो पंक्तिका नेताहरूको प्रभाव नगन्य हुन्छ।
प्राइमरीको
सुरुवात संयुक्त राज्य अमेरिकामा बीसौं शताब्दीतिर प्रोग्रेसिभ मुभमेन्टबाट सुरु
भएको मानिन्छ। सन् १९६० को दशक अघिसम्म पनि अमेरिकामा नेपालको जस्तै पार्टीका
नेताले उम्मेदवार चुन्ने चलन थियो। प्रोग्रेसिभ मुभमेन्टको कारण पार्टीका माथिल्लो
तहका नेताबाट उम्मेदवार चुन्न पाउने अधिकार आम मतदातालाई प्राप्त भयो।
साधारणतया
एउटै पार्टीभित्र वा धेरै पार्टीहरूको गठबन्धन वा स्वतन्त्रहरूबीच प्राइमरी गरेर
उत्कृष्ट साझा उम्मेदवार छान्न सकिन्छ। हालसालै हंगेरीमा विपक्षी गठबन्धन
पार्टीहरूबीच प्रधानमन्त्रीको उम्मेदवार छान्न प्राइमरी गरिएको थियो। उक्त
प्राइमरीमा जनताले स्वतन्त्र उम्मेदवारलाई प्रधानमन्त्रीको प्रत्यासीको रूपमा
चुने।
त्यसैगरी
पोर्चुगलमा २०१४ मा प्रधानमन्त्रीको प्रत्यासीको लागि पहिलो पटक खुल्ला प्राइमरी
गर्दा पार्टीका महासचिवलाई एउटा सहरको मेयरले अत्यधिक मतले जितेर प्रधानमन्त्रीको
उम्मेदवार भए र चुनाव पनि जिते। यसरी प्राइमरीको प्रत्यक्ष फाइदा पार्टी सदस्य र
जनताले पाउँछन्।
आफ्नो
पार्टीका उम्मेदवार प्राइमरीमार्फत आफैं छान्छन् र चुनावमा जिताउँछन्। यसरी
छानिएका उम्मेदवारहरू नेतृत्व पंक्तिमा खारिएका हुन्छन्। झोले कार्यकर्ता र गुटका
नेताहरूको आडमा नेतृत्वमा टिकिराख्ने पार्टीका हेभिवेट नेताहरूको लागि प्राइमरी
अप्रिय हुनसक्छ।
विश्वका
विभिन्न मुलुकहरूमा विभिन्न प्रकारले प्राइमरीमार्फत पार्टीका उम्मेदवार चयन
गरिन्छ। विभिन्न पार्टीले खुल्ला, बन्द तथा हाईब्रिड तरिकाले प्राइमरी गर्ने गर्छन्। खुल्ला प्राइमरी
अन्तर्गत उम्मेदवार छनोट प्रक्रियामा सम्बन्धित निर्वाचन क्षेत्रका सबै
मतदाताहरूले प्राइमरीमा भाग लिन पाउँछन्।
यो
प्रक्रियामा भाग लिन सम्बन्धित पार्टीको सदस्य हुनुपर्दैन। आफूलाई मनपर्ने जुनसुकै
पार्टीका उम्मेदवारहरूलाई मत हाल्न सकिन्छ। तर बन्द प्राइमरी जसलाई आन्तरिक
प्राइमरी वा पार्टी प्राइमरी पनि भनिन्छ, त्यसमा पार्टीका सदस्यहरूले मात्र
सम्बन्धित पार्टीको प्राइमरीमा भाग लिन पाउँछन्।
अमेरिकाका
१३ राज्यहरूमा बन्द प्राइमरी गरिन्छ जसमा सम्बन्धित पार्टी सदस्यहरूले मात्र भोट
हाल्न पाउँछन्। १४ राज्यहरूमा खुल्ला प्राइमरी गरिन्छ। खुल्ला प्राइमरीमा पार्टीको
आवद्धता हेरिंदैन जसले गर्दा एउटा पार्टीले अर्को पार्टीको कमजोर उम्मेदवारलाई
प्राइमरीमा जिताउन भूमिका खेल्न सक्छ।
सन् २०१६
को अमेरिकी राष्ट्रपतीय प्राइमरीमा डेमोक्रयाट्सहरूले डोनाल्ड ट्रम्पलाई रिपब्लिकन
पार्टीका कमजोर उम्मेदवार ठानेर प्राइमरीमा उनलाई जिताउन मद्दत गरेको भन्ने थियो
जुन पछि उनीहरूकै लागि प्रत्युत्पादक साबित भयो।
बन्द र
खुल्ला प्राइमरीबीच अर्ध-बन्द वा अर्ध-खुल्ला जस्ता हाईब्रिड प्राइमरी पनि हुन्छ
जसमा स्वतन्त्र र अर्को पार्टीका सदस्यहरू चुनावकै दिन भोटिङ बुथमा गएर पार्टी
परिवर्तन गरी नयाँ पार्टीप्रति आबद्धता भई प्राइमरीमा मतदान गर्न सक्छन्।
अमेरिकाको १५ राज्यहरूमा यसप्रकारको प्राइमरी गरिन्छ।
प्राइमरीहरू
पार्टीहरूले आन्तरिक रूपमा आ-आफ्ना पार्टीभित्र वा जनप्रशासनले सबै पार्टीहरूका
लागि गर्न सक्छ। कैयौं विकसित देशहरूमा स्थानीय निकायहरू गैरदलीय हुन्छन् यद्यपि
त्यस्ता निकायमा चुनाव लड्ने उम्मेदवारका राजनीतिक पार्टीप्रतिको आवद्धता थाहा
हुन्छ। यस्ता गैरदलीय वा स्वतन्त्र उम्मेदवारहरूको भीड कम गर्न पनि प्राइमरी गर्ने
गरिन्छ। उम्मेदवारको यस्तो भीडमा एकै प्रकारका अर्थात् क्लोन उम्मेदवारहरूबाट भोट
बाँडिने र काटिने अवस्थालाई प्राइमरीमार्फत नियन्त्रण गर्न सकिन्छ।
युरोपेली
देशहरूमा धेरैजसो बन्द प्राइमरी गर्ने चलन छ। बेलायत, ग्रीस, इटाली लगायतका केही अन्य देशका केही
पार्टीहरूले खुल्ला प्राइमरी गर्ने गरेका छन् र यो क्रम बढ्दो छ। रुस जस्तो
प्रजातन्त्र संस्थागत नभएको देशले पनि सन् २००० देखि प्राइमरीको अभ्यास गर्न सुरु
गरेको छ। यद्यपि यो पारदर्शी र संस्थागत हुनसकेको छैन। चिली, कोलम्बिया, कोस्टारिका, उरुग्वे, पोल्याण्ड, हंगकंग, ताइवान, साउथ कोरिया, अस्ट्रेलियालगायत विश्वका अन्य धेरै
देशमा प्राइमरीको अभ्यास भएको पाइन्छ।
नेपालमा
पनि प्राइमरीको सान्दर्भिकता अहिले बढेको छ। आम-निर्वाचन नजिकिंदै गर्दा नेपालको
राजनीतिमा प्राइमरीको हल्ला ठूलो हुँदै गइरहेको छ। राजनीतिक दलहरू र वर्तमान
नेतृत्वप्रति जनताको बढ्दो वितृष्णाको परिणाम काठमाडौं, धरान र धनगढी जस्ता ठूला सहरहरूमा
स्वतन्त्रको विजयले देशभर स्वतन्त्र उम्मेदवारहरू हौसिएका छन्।
पार्टीमा
टिके र बिके प्रथा संस्थागत भएकोले आर्थिक हैसियत नभएका, नेताका रिझाइमा नपरेका, आफ्नो निष्ठा र इमानदारितामा विश्वास गर्ने क्षमतावान
युवा नेताहरू सधैं पार्टीका माथिल्लो र वरिष्ठ भनिएका विशेषगरी पार्टी सभापति र
उनका गुटको प्रत्यक्ष हस्तक्षेपको सिकार हुने गरेका छन् र उम्मेदवार छनोटमा
पर्दैनन्।
पार्टीभित्रको
यस्तो कुसंस्कारको विरोधमा प्रमुख राजनीतिक दलका युवा नेताहरूले अहिले आएर
अलोकतान्त्रिक र अपारदर्शी उम्मेदवार छनोट प्रक्रियाको विरुद्ध पार्टीभित्र र
बाहिर आवाज उठाउन थालेका छन्। नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले
केन्द्रीय समितिको बैठकमा प्राइमरीमार्फत खुला प्रतिस्पर्धाबाट पार्टीको उम्मेदवार
चयन गरेर कांग्रेसलाई लोकतान्त्रिक विधिको संरक्षक हुनुपर्ने कुरा उठाएका छन्।
अर्का
महामन्त्री गगन थापाको पनि त्यस्तै भाकामा पार्टीभित्रका योग्य युवाहरूलाई पाखा
लगाउन नमिल्ने तर्क अगाडि सारेका छन्। नत्र बागी र स्वतन्त्रहरूप्रति जनताको
आकर्षण बढ्न गई पार्टीभित्र दुर्घटना निम्तिन सक्ने उनको विचार बाहिर आउने गरेको
छ।
खुल्ला
प्रतिस्पर्धाबाट नेतृत्व चयन हुनु लोकतन्त्रको अनुपम पक्ष हो। यसले सबैलाई
नेतृत्वमा आउने समान अवसर प्रदान गर्छ। पार्टीमा जरा गाडेको खराब प्रवृत्ति र
नेतृत्वको शुद्धीकरणको लागि राजनीतिक सुधारको लागि सर्वमान्य लोकतान्त्रिक विधि
भनेको जनमतको कदर गर्नु हो।
एउटै
नेताले सधैंभरि पार्टीभित्र तलदेखि माथिसम्म गुट–उपगुट बनाई आफ्नो स्वार्थको
राजनीतिलाई बचाइराख्न लोकतन्त्रको नाममा नेतातन्त्र हावी गरिराख्ने र पार्टी हुँदै
देशको नेतृत्वमा त्यही कुसंस्कार लाद्दा देश अहिले कोल्याप्स हुने स्थितिमा छ।
देशमा
व्यवस्था हैन, अवस्था
बदल्न योग्य नेताको आवश्यकता छ जुन अहिलेको टिके र बिके प्रथाबाट आउन सक्दैन।
त्यसको लागि पार्टीभित्र लोकतान्त्रिक विद्रोह हुन आवश्यक छ र त्यो भनेको आउने
आम-निर्वाचनमा विश्वको सफल राष्ट्रहरूमा प्रमाणित भइसकेको प्राथमिक निर्वाचन
(प्राइमरी) मार्फत उम्मेदवारी चयन हो।
तर, यथास्थितिमा प्राइमरीमार्फत उम्मेदवार
चयन गर्न चुनौतीका अग्ला-अग्ला पहाडहरू चढ्नुपर्ने हुन्छ। वर्षौंदेखि पार्टीमा
एकाधिकार जमाएर बसेका पुरानो नेतृत्वको लागि पार्टीभित्र प्राइमरी लागू गर्नु
उनीहरूका लागि आत्मघाती सावित हुनेछ। युवाहरूको नेतृत्व परिवर्तन र रुपान्तरणको
वर्षौंदेखिको आवाजलाई पार्टीका पुराना तप्काले यति सजिलै सम्बोधन गर्ने स्थिति
छैन।
एउटा राजा
फालेर पार्टीभित्र अनेकौं राजा स्थापना भएको अवस्थामा राजारुपी सबै नेताहरू आफ्नो
राजपरिवारलाई संस्थागत गर्न लागिपरेका छन्। यस्तो अवस्थामा आफ्नो परिवार र
भाइ-भारदार बाहेक अरुलाई नेतृत्व सुम्पने वा अरुले नेतृत्व पाउने गरी खुल्ला
प्रतिस्पर्धाको विकास हुन पार्टीभित्र ठूलै क्रान्ति हुनुपर्छ। अहिले यो
क्रान्तिको हावा बग्न थालेको महसुस गरिंदैछ।
जनतालाई
परिवर्तनको हावाले त्यति छिटो छुँदैन। लगभग ४० प्रतिशत जनता मतदानमा भाग लिंदैनन्।
उनीहरूलाई प्राइमरीमा भाग लिन लगाउन धेरै पापड बेल्नुपर्ने हुन्छ। मतदानमा भाग
लिने मतदातालाई जुनसुकै मेनु देखाए पनि लास्टमा मोमो र चाउमिन नै रोजे जस्तै त्यही
पुरानो अनुहारलाई नै रोज्छन्। कतिले बाउबाजेको पार्टीको उम्मेदवार भन्छन्, कतिले आफ्ना मान्छे, टोलछिमेक भन्छन्, कति जात, धर्म हेर्छन् भने विपन्न वर्गका
मतदाताहरू नगद, जिन्सी र
एक दुई दिनको भोजभतेरमा बिक्छन्।
प्राइमरीमा
हुने बहस, मतदाताहरूसँग
हुने प्रत्यक्ष अन्तरक्रियाले मतदातालाई उम्मेदवारलाई जान्ने–बुझ्ने मौका प्रदान
गर्ने हुनाले जनताले नयाँ प्रकार र नयाँ स्वादको मोमो, चाउमिन वा अन्य नयाँ परिकार रोज्ने आशा
गर्न सकिन्छ।
स-साना
पार्टीका र स्वतन्त्र उम्मेदवारहरू बीच प्राइमरी गरेर साझा उम्मेदवार छान्नु अर्को
ठूलो चुनौती हुनेछ। पहिचानको लागि उम्मेदवारी दिने, प्रतिष्ठाको लागि उम्मेदवारी दिने र
इगोले भरिएको उम्मेदवारहरू जमानत नजोगिने निश्चित हुँदा पनि उम्मेदवारी फिर्ता
लिंदैनन्।
त्यस्ता
उम्मेदवारबाट प्राइमरीको आशा गर्नु निकै कठिन हुन्छ। यद्यपि, परिवर्तनको लागि राजनीतिमा विधि र
पार्टीमा परिपाटी स्थापना गर्न उम्मेदवार भएको भन्नेलाई उम्मेदवारकै यही सोच, विचार र सिद्धान्तलाई आधार बनाई
प्राइमरीमा समावेश भई परिणामलाई स्वीकार गराउन सकिन्छ।
अर्को
चुनौती भनेको सुरक्षा र विश्वसनीयताको हो। नेपाल जस्तो बेथितिको उत्कर्ष र
राजनीतिक जनचेतना न्यून भएको देशमा चुनावमा सुरक्षा र विश्वसनीयता निकै संवेदनशील
हुन्छ।
परम्परागत
मतपत्रमा मतदान गराउँदा व्यवस्थापन र सुरक्षा दुवै चुनौतीपूर्ण हुन्छ। नेपालमा
अभ्यास नभएको अनलाइन भोटिङ प्रणाली पूर्णरूपले प्राविधिक हुने भएकोले
उम्मेदवारहरूको विश्वसनीयतामा कमि आउन सक्छ। अनलाइन भोटिङमा सम्बन्धित निर्वाचन
क्षेत्रको मतदातालाई पहिचान गर्न गाह्रो हुन्छ। मतदाता परिचयपत्र संकलन गर्दा
मतदाताको गोपनीयता भङ्ग हुने डर हुन्छ।
परम्परागत
पार्टीका उम्मेदवार चयनमा टिके र बिके प्रथालाई निर्मूल पार्न राजनीतिक रुपान्तरण
र शुद्धीकरणको लागि सक्षम युवा नेतृत्वको खोजी गर्न पार्टीभित्र पारदर्शी र खुल्ला
प्रतिस्पर्धाबाट उम्मेदवारी चयन हुनुपर्छ, जसको लागि प्राइमरी एक उत्तम विकल्प हो।
अहिले देखिएको स्वतन्त्र उम्मेदवारहरूको भीड कम गर्दै साझा उम्मेदवार चयन गर्न पनि
प्राइमरी निर्वाचनले भूमिका खेल्न सक्छ। उम्मेदवारमा इच्छा र अठोट भए तमाम
चुनौतीका बावजुद नेपालमा पनि अन्य विकसित देशहरूमा झैं प्राइमरी निर्वाचनमार्फत
जनताको प्रत्यक्ष संलग्नतामा सक्षम उम्मेदवार छान्न सकिन्छ।
अहिले
स्वतन्त्र युवाहरूको समूह नेपाल चेन्ज मेकर लिग (लिग) ले नेपालमा प्राइमरीको
अभ्यास र सान्दर्भिकताको विषयमा बहस चलाइरहेको छ। आउने आम-निर्वाचनलाई लक्षित गरी
स्वतन्त्र र स-साना पार्टीका उम्मेदवारहरूबीच प्राइमरी गरी साझा उम्मेदवार उठाउन
लिगले स्वतन्त्र र स-साना पार्टीका उम्मेदवारहरूसँग छलफल र अन्तरक्रिया गरिरहेको
छ।
ठूला
राष्ट्रिय पार्टीहरूमा पनि आन्तरिक प्राइमरीबाट योग्य उम्मेदवार छान्न लिग
प्रयासरत छ। प्राइमरीबाट छानिएका उम्मेदवारहरूको विभिन्न दृष्टिकोणले चुनाव जित्ने
सम्भावना बढी हुने, पार्टीमा
अन्तर्घात नहुने, इमानदार र
क्षमतावानले कम खर्चमै चुनाव लड्न र जित्न सक्ने, चुनावी खर्चमा व्यापक कटौती भई देशलाई
आर्थिक भार ज्यादै कम हुनेमा दुईमत नहोला।
(नेपाल चेन्ज मेकर लिगसँग आवद्ध श्रेष्ठ
नेपालमा राजनीतिक सुधार र सुशासन अभियानमा पनि क्रियाशील छन्।)
साभार: onlinekhabar
कमेन्ट गर्नुहोस्